’नेपाल राज्य संवाददाता
अर्घाखाँची– स्वास्थ्य क्षेत्रमा भत्ताको भरमा काम गर्दै आएका महिला स्वयमसेवीकालाई मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले नीति बनाएरै तलब भत्ता सुविधा दिने प्रतिबद्धता कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले बताइन ।
उनीहरुले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्दै सरकारी सेवामा ल्याउने र सरकारी कोटा बनाएर मासिक तलब दिने व्यवस्था गर्ने उनले बताइन ।
सन्धिखर्क नगरपालिकाको वडा नम्बर ४, ५, ११ र १२ मा भएको गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै भुसालले महिला स्वयमसेवीकाको काम बढी भयो, भत्ताले पुगेन । परिश्रमको सम्मान गर्दै सरकारी कोटामा ल्याएर उचित तलबको व्यवस्था गर्ने बताइन ।
देशभरका स्वयमसेवीकाले भत्ताको भरमा सेवा गर्दै आएका छन् । उनीहरुले राज्यबाट पोशाक भत्ता वातप वर्षको १० हजार, यातायात तथा सञ्चार खर्च वापत वर्षमा ६ हजार पाउँछन् । गोष्ठी र कार्यक्रम हुँदाको दिन जस्तै बालवालिकालाई भिटामिन ‘ए’ खुवाउँदा दिनको ४ सय भत्ता पाउँछन् । मासिक बैठक हुँदा वर्षको ६ हजार पाउँछन् ।
अर्घाखाँचीमा सरकारबाट सुचीकृत भएर सरकारी सेवा पाउनेमा जिल्लाको ६१ वडामा ८ सय ४२ जना र पालिकाले थपेर जम्मा ८ सय ५० जना रहेको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।