दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई धार्मिक र सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने स्पष्ट गर्दै प्रदेशमा अपार सम्भावना रहेको बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले भगवान बुद्धको जन्मभूमि लुम्बिनी मात्र नभई प्रदेशभित्रका अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले समेत विदेशी पर्यटकलाई आकर्षित गर्ने बलियो आधार तयार गरेको बताए ।
उहाँले पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबै पक्षको ध्यान आवश्यक रहेको उल्लेख गर्दै सबैको सहकार्यद्वारा प्रदेशलाई पर्यटकीय केन्द्रका रूपमा उभ्याउन सकिने धारणा राखे ।
शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमीजस्ता पर्वहरूले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावमा बाँध्ने उल्लेख गरेका छन् । “भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान होइन, यो नै सभ्यता र गौरवको आधार हो,” उहाँको सन्देशमा भनिएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न योजना अघि बढाइरहेको उल्लेख गर्दै उहाँले प्रेम, मैत्री र सहिष्णुताको भावना जगाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराएका छन् ।