अर्घाखाँची — अर्घाखाँची अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन्। स्वास्थ्य सेवा सुधार, व्यवस्थापनमा प्रभावकारी नेतृत्व र सेवाको गुणस्तर वृद्धि गर्ने कार्यमा योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।
अर्घाखाँची अस्पतालले आ.व. २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकनमा स्वास्थ्य सेवाका प्रमुख सूचकका आधारमा लुम्बिनी प्रदेशका अस्पतालहरूमध्ये दोस्रो स्थान हासिल गरेको थियो।
सीमित स्रोत र विभिन्न चुनौतीबीच पनि अस्पताललाई निरन्तर उन्नतिको बाटोमा अघि बढाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै डा. तिवारीको नेतृत्वलाई उदाहरणीय ठहर गर्दै सामाजिक संजाल फोन मार्फत हार्दिक बधाई तथा शुभकामना आइरहेका छन् ।
डा. तिवारीले सम्मानपछि प्रतिक्रिया दिँदै भने “यो उपलब्धि केवल मेरो व्यक्तिगत होइन, अर्घाखाँची अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तह र सेवाग्राही सबैको सामूहिक प्रयासको नतिजा हो।”
उनले आगामी दिनमा अझ गुणस्तरीय र सहज स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउदै सरोकारवाला सम्पुर्णको साथ आवश्यक रहेको बताए ।

