नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क नगरपालिकाले नगरक्षेत्रका बिद्याबारिधि गरेका विशेषज्ञहरुको तथ्यांक संकलन गरी सन्धिखर्क नगर शिक्षा विज्ञ समूह गठन गर्ने भएको छ । उनीहरुको सल्लाहको आधारमा शिक्षा क्षेत्रका क्रियाकलाप नगरले गर्नेछ ।
माध्यमिक तहसम्मको शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने र अन्य प्राविधिक शिक्षाको स्थापना गर्न पिएचडीको सल्लाह लिन खोजेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
‘सन्धिखर्क नगरपालिका भित्र जन्मिएर विद्याबारिधी गरेका व्यक्तिहरुको तथ्यांक संकलन गर्छौ र छिटै नगर शिक्षा विज्ञ समुह गठन हुन्छ,’ उनले भने, ‘नगरको माध्यमिक तहको शिक्षाको अवस्था कस्तो छ, कसरी सुधार गर्ने, पढाई राम्रो बनाउन के गर्नुपर्छ सबै कुरा समुहले सल्ला दिन्छ । त्यही अनुसार हामी अगाडी बढ्छौं ।’
नगरभित्रका स्कुल सुधार्न पिएचडी गरेका विज्ञ समुहले दीर्घकालिन योजना दिन सक्ने उनले आशा गरे । शिक्षक, विद्यार्थी, अभिभावकको भूमिका र कामको बारेमा विज्ञ समुहले सल्लाह दिनेछ । तल्लो तहका कक्षामा विद्यार्थी अभावमा स्कुल बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी स्कुलमा अंग्रेजी भाषा सहितको पढाई शुरु भएको छ । सामुदायिक स्कुलमा राम्रो पढाई नभएकाले महंगो नीजि स्कुलमा छोराछोरी पढाउन अभिभावक बाध्य छन् । केही अभिभावकले सदरमुकामकै बोडिङ र धेरै बुटवल, काठमाडौतिर जान थालेपछि विद्यार्थीलाई सरकारी स्कुलमै अडाउन नगरपालिकाले विद्याबारिधीको सहायता लिन खोजेको हो । नीजि स्कुलमा छोराछोरी पढाउनकै लागि गाउ“बाट सदरमुकाम र जिल्ला बाहिर बुटवल, काठमाडौमा डेरा गरी बस्ने बढ्दो छन् । ‘छोराछोरी पढाउनकै लागि अभिभावकले घर छाडेर अन्यत्र जान नपरोस र दैलो अगाडीको स्कुलमा पढाउन भनेर विज्ञ समुहको सल्लाह लिनु परेको हो,’ अर्यालले भने, ‘माध्यमिक तहसम्मको शिक्षालाई सबै स्कुलमा राम्रो पढाई हुने बनाउने लक्ष्य छ । ठुला शहरका नीजि स्कुल भन्दा गाउँकै सामुदायिक विद्यालयलाई अब्बल बनाउने अभियान अन्तरगत विद्याबारिधीको विज्ञ समुह गठन गर्न लागेको हो ।’
सदरमुकामको नगरपालिका भएकाले यहाँ दुई क्याम्पस छन् । पाणिनि बहुमुखी क्याम्पसमा पढने ४० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाइदिने भनेर नगरले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
माध्यमिक तहसँगै प्राविधिक शिक्षा पनि सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको छ । विज्ञ समुहले कुन विषयका प्राविधिक शिक्षा सञ्चालन गर्दा उपयुक्त हुन्छ, त्यही सल्लाहको आधारमा अगाडि बढने अर्यालले बताए ।
सदरमुकामको नगरपालिका भएकाले सार्वजनिक ठाउँमा समेत सरोकारवालाले शिक्षालाई बढी जोड दिन आवाज बुलन्द गर्छन् । ‘छिटै विज्ञ समुह गठन गर्ने र शिक्षालाई प्राथमिकतामा राखेर सबै स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न लाग्छौं,’ नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘सबै अभिभावकले छोराछोरीलाई नीजिबाट छुटाएर सामुदायिक स्कुलमा भर्ना गर्ने गरी शिक्षामा सुधार ल्याउछौं । भौतिक पूर्वाधार निर्माण देखि पठनपाठनलाई विशेष ध्यान दिन्छौं ।’
सदरमुकाममै प्राविधिक शिक्षालय स्थापना गर्न अध्ययनमा लागेको उनले बताए । जिल्लामा बाली विज्ञानको डिप्लोमासम्म पाणिनि र छत्रदेवमा पढाई हुन्छ । कृषि, पशु सहित अन्य प्राविधिक शिक्षाको अध्ययनको लागि छिटै सदरमुकाममा व्यवस्था गरिने श्रेष्ठले बताए ।