कोशी अस्पताल विराटनगरको नाम दुरुपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पत्राचार गर्न अस्पतालले स्थानीय प्रशासनलाई पत्राचार गरेको छ ।
कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले सोही अस्पतालको नाम राखेर बाहिर क्लिनिक सञ्चालन गरेको पाइएपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन अस्पतालले प्रशासनलाई पत्र पठाएको हो ।
अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा.यज्ञराज खरेलले अस्पतालको नाम दुरूपयोग गरी क्लिनिक सञ्चालन गरेको भन्दै त्यसलाई अनुसन्धान गरेर आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएका हुन् ।
आइतवार मेसु डा. खरेलले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही हुनका लागि अनुरोध छ ।’
कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालकै नाम राखेर अस्पताल नजिकै निजी क्लिनिक सञ्चालन गरेका थिए । त्यसरी सञ्चालित क्लिनिक तत्काल बन्द गराउन युवाहरूले माग गरेका थिए ।
युवाहरूको दबाबपछि अस्पतालले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । विराटनगरका स्थानीयवासी मुकेश बुढाथोकीले अस्पतालको नाम दुरूपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कडा कारबाही गर्न माग गरे ।