बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले कार्यकर्तालाई जनताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।
शनिबार बुटवलमा सम्पन्न नेकपा एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको बैठकलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सूक्ष्म रूपमा विश्लेषण गरी आगामी दिनका लागि ठोस योजना बनाउनुपर्ने बताए। उनले अहिलेको परिस्थितिलाई सामान्य रूपमा नलिन आग्रह गर्दै त्यसको गम्भीर मूल्यांकन गर्नुपर्ने धारणा राखे।
“यो परिस्थिति यसै आएको होइन, हामी सबैले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ,” उनले भने, “भदौ २३ र २४ मा भएका आन्दोलन पनि स्वस्फूर्त रूपमा मात्र भएका थिएनन्, त्यसबारे स्पष्ट रूपमा बुझ्न आवश्यक छ।”
उनले राजनीतिक रूपमा कार्यकर्तालाई प्रशिक्षित र संगठित गर्ने कामलाई निरन्तरता दिनुपर्ने र संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
मुख्यमन्त्री आचार्यले विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले नेतृत्वका सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे। “विकास निर्माणका धेरै काम एमाले नेतृत्वकै सरकारले गरेको छ। घरघरमा सडक र यातायातको पहुँच विस्तार गर्ने काम पनि एमालेकै नेतृत्वमा भएको हो,” उनले भने, “यदि एमालेले काम नगर्ने हो भने अर्घाखाँचीको विकास सम्भव हुन्छ? हिजो कसैले गरेको थियो र? अब अरू शक्तिले गर्न सक्छन् र?”
उनले सिंचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण काम भएको पनि उल्लेख गरे।
सम्पर्क मञ्चका अध्यक्ष डबल बिसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो।

बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाललगायतको सहभागिता सहित निर्वाचन सम्बन्धमा छलफल रहेको थियो।

