काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा रु २५ अर्ब ५३ करोड अर्थात १६.३५ प्रतिशत बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा पेट्रोलियम आयातबाट रु ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।
सबैभन्दा बढी डिजेल आयात भएको छ । चालु आवमा रु १ खर्ब ५७ करोड मूल्यको ८ लाख ९५ हजार किलोलिटर डिजेल आयात भएको छ । पेट्रोलतर्फ रु ३५ अर्ब ७९ करोड बराबरको ३ लाख ९० हजार किलोलिटर पेट्रोल भित्रिएको छ ।
यस्तै एलपीजी ग्यास आयात भने घटेको छ । चालु आवमा रु २५ अर्ब ५४ करोड मूल्यको २४ करोड २७ लाख किलोग्राम ग्यास आयात भएको छ, जुन गत वर्षको तुलनामा कम हो ।

