काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चलचित्र तेलभिसाका निर्माता शिवराज कार्कीलाई पक्राउ गरेको छ। वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा पासाङ नोर्बु तामाङसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो।
सुन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी बस्ने कार्कीले २५० जनालाई अमेरिका लैजाने भनी ठगी गरेको आरोप छ। १०० जनाभन्दा पीडित प्रहरीको सम्पर्कमा पुगेका छन्।
कार्कीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए।
चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सीका सञ्चालक समेत रहेका कार्कीविरुद्ध ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ। उनीविरुद्ध प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भएको पाइएको छ।
अमेरिकामा बस्ने नेपालीको कथामा आधारित फिल्म तेलभिसाका निर्माता कार्की नेपालमा जाहेरी परेपछि पछिल्लो तीन महिनादेखि भारतको नयाँदिल्लीस्थित पहाडगञ्जमा फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए। नेपाल आएको मौकामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

