काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा सक्रिय गुट चलाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला निर्वाचनको मुखमा पूर्णतः मौन देखिएकी छिन् ।
महाधिवेशनमा आफ्ना पक्षका उम्मेदवार ईश्वर पोखरेललाई अध्यक्षमा उठाए पनि आफ्नै पुराना सारथीहरू विष्णु पौडेल, शेरधन राई र पृथ्वीसुब्बा गुरुङले साथ नदिएपछि भण्डारीको शक्ति क्षीण भएको हो । ओली र पोखरेलबीचको प्रतिस्पर्धामा पोखरेलले झिनो मत ल्याएर पराजित हुनु र भण्डारीको आफ्नै पार्टी सदस्यता नवीकरणमा अध्यक्ष केपी शर्मा ओलीले ’ब्रेक’ लगाउनुले उनलाई थप निराश बनाएको छ ।
मोरङ वा काठमाडौँबाट निर्वाचन लड्ने तयारीमा रहेकी भण्डारीलाई ओलीले टिकट नदिने सुईंको पाएपछि उनले उम्मेदवारीमा दाबी गरिनन् । हाल बालुवाटारस्थित निवासमा अध्ययन र लेखनमा व्यस्त भण्डारीले एमाले उम्मेदवारहरूका लागि मत माग्न कुनै पनि तालिका बनाएकी छैनन् । ओली निकटका नेताहरूले सङ्कटको बेला पार्टीलाई सहयोग नगरेको भन्दै उनको आलोचना गरिरहेका छन् भने भण्डारी पक्षले अपमानजनक घेराबन्दीका कारण उनी मौन बस्नुपरेको दाबी गरेका छन् ।
भण्डारी मात्र होइन, मदन भण्डारीकी छोरी उषा किरण भण्डारीको राजनीतिक व्यवस्थापनमा पनि ओली बाधक बनेको चर्चा छ । राष्ट्रिय सभाको टिकटबाट बञ्चित गरिएपछि उषा पनि चुनावी मैदानमा सक्रिय देखिएकी छैनन् । मदन भण्डारीको ’लिगेसी’ बोकेको परिवार नै निर्वाचनमा ननिस्कँदा एमालेलाई चुनावी नतिजामा घाटा लाग्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि, निर्वाचनपछि सदस्यता नवीकरण गरी पुनः मूलधारको राजनीतिमा फर्कने दाउमा भण्डारी रहे पनि ओलीको कडा अडानले उनको राजनीतिक भविष्य अझै अन्योलमा छ ।

