श्याम घिमिरे,अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१ रतहलेमा गएराति छाडा कुकुरको आक्रमणबाट पाँच वटा पाठापाठी मरेका छन्।
मालारानी गाउँपालिका–९ गोखुङ्गा निवासी तथा हाल रोजगारीसँगै व्यवसायका सिलसिलामा रतहलेमा बस्दै आएका किसान मुमाराम घर्ती (मुमबहादुर) को बाख्राको खोर तोडी कुकुरले पाठापाठी मारेको हो।
पीडित घर्तीका अनुसार करिब १० देखि १२ केजी तौलका पाँच वटा पाठापाठी मर्दा अन्दाजी ४५ देखि ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
छाडा कुकुरको बढ्दो आतंकका कारण किसान मात्र होइन, सर्वसाधारणसमेत त्रसित बनेका छन्। स्थानीयवासीले यस्ता कुकुरको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, साना बालबालिकालाई विशेष सतर्कताका साथ सुरक्षित राख्नसमेत आग्रह गरिएको छ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानमा छाडा कुकुरको आक्रमणबाट पाठापाठी मरेका घटनाहरू सार्वजनिक भइसकेका छन्। पटक–पटक यस्ता घटना दोहोरिँदा किसान थप चिन्तित बनेका छन्। छाडा कुकुर व्यवस्थापनमा प्रभावकारी पहल आवश्यक रहेको स्थानीयको भनाइ छ।

