अर्घाखाँची । मालारानी–५ बाँगीका मृगौला पीडित पूर्णबहादुर कुँवरको उपचारका लागि संकलित सहयोग रकम बैंक खातामार्फत जम्मा गरिएको छ।
नवदीप युवा क्लबको पहलमा संकलन गरिएको कुल २ लाख ६५ हजार ४ सय ९६ रुपैयाँ रकम पीडित कुँवरको उपचारार्थ बैंकमार्फत जम्मा गरिएको क्लबका अध्यक्ष सूर्य कुँवरले जानकारी दिएका छन्। अध्यक्ष कुँवरका अनुसार यसअघि १ लाख ४६ हजार ५ सय १६ रुपैयाँ र आज थप १ लाख १८ हजार ९ सय ८० रुपैयाँ गरी दुई चरणमा रकम बैंक खातामा जम्मा गरिएको हो।
क्लबले उपचारमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ।
बाँगीस्थित नवदीप युवा क्लबले लामो समयदेखि समाजमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। क्लबले स्वास्थ्य उपचार सहयोग, विपन्न तथा असहायलाई राहत, रक्तदान कार्यक्रम, सरसफाइ अभियान र युवा परिचालनमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने कार्यमा सक्रिय क्लबले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

