काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीले आयोजना गरेको उमेदवारसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ।
माघ १७ गते शनिबार क्वालिटी ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रमले काठमाडौंमा रहेका अर्घाखाँचीवासी एमाले नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई एकै थलोमा उभ्याउँदै चुनावी सन्देश स्पष्ट पारेको थियो । कार्यक्रममा अर्घाखाँची क्षेत्रको राजनीतिक भविष्य, विकासको दिशा र संगठनात्मक रणनीतिबारे खुला बहस भएको थियो। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसाल, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य तथा नेता बोमबहादुर विकसहित पार्टीका केन्द्रीय, जिल्ला र स्थानीय तहका नेताहरूको सक्रिय उपस्थिति रहेको थियो।
अन्तरक्रियामा उम्मेदवार पिताम्बर भुसालले अर्घाखाँचीको विकासलाई भाषणमा सीमित नराख्ने प्रतिवद्धता जनाउँदै सडक सञ्जाल विस्तार, शिक्षा–स्वास्थ्य सेवाको सुधार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डा बनाउने बताए। “अर्घाखाँचीलाई योजनाबद्ध र दिगो विकासको बाटोमा अघि बढाउन एमालेको अनुभव र नेतृत्व अपरिहार्य छ” उनले भने।
काठमाडौंमा रहेका अर्घाखाँचीवासीहरूको सुझावले आफ्नो अभियानलाई थप बलियो बनाएको उनको भनाइ थियो।
एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यले सम्पर्क संगठनलाई पार्टी र जनताबीचको बलियो सेतुका रूपमा चित्रित गर्दै चुनावी समयमा यसको भूमिका अझै निर्णायक हुने बताए। उनले संगठनात्मक एकता, अनुशासन र जनतासँगको निरन्तर संवाद नै एमालेको शक्ति भएको दाबी गरे।
नेता बोमबहादुर विकले निर्वाचनलाई केवल मतगणनाको प्रक्रिया नभई राजनीतिक दिशा निर्धारण गर्ने समयको रूपमा व्याख्या गर्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक मैदानमा उत्रिन आह्वान गरे। “अर्घाखाँचीको समृद्धिका लागि एमालेबाहेक भरपर्दो विकल्प छैन” उनको स्पष्ट भनाइ थियो।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले युवाको रोजगारी, वैदेशिक रोजगारबाट फर्किएका युवाको पुनःस्थापना, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर र स्थानीय उत्पादनको बजारीकरणजस्ता ज्वलन्त सवाल उठाएका थिए। नेताहरूले ती प्रश्नहरूलाई घोषणापत्र र आगामी कार्ययोजनामा समेट्ने प्रतिवद्धता जनाए।
कार्यक्रमभर अर्घाखाँची–काठमाडौं सम्पर्क संगठनको सक्रियता र भूमिकाको उच्च मूल्याङ्कन गरिएको थियो। वक्ताहरूले काठमाडौंमा रहेका अर्घाखाँचीवासी एमाले कार्यकर्ताहरूले जिल्लाको राजनीति र विकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे।
अन्त्यमा कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने सामूहिक संकल्प व्यक्त गरे। आयोजकका अनुसार यस्तो अन्तरक्रियाले संगठनलाई मजबुत बनाउनुका साथै उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद स्थापित गर्दै सकारात्मक चुनावी परिणामको आधार तयार गरेको दाबी छ ।

