अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि उम्मेदवारी दर्ताको समय सार्वजनिक गरिएको छ।
अर्घाखाँची मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दलका लागि उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको हो।
निर्णय अनुसार नेपाली कांग्रेसले दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म, नेकपा एमालेले दिउँसो १ बजेदेखि २ बजेसम्म, नेकपाले दिउँसो २ बजेदेखि २ः३० बजेसम्म र राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय पाएको छ।
यस्तै राष्ट्रिय जनमोर्चाले १२ बजेदेखि १ बजेसम्म, जनता समाजवादी पार्टीले दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म तथा राप्रपाले दिउँसो २ः४५ बजेदेखि ३ः१५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी नायब उपरीक्षक दिवश जिसी, सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहाल, अनुसन्धान अधिकृत छविलाल पोडेल, निर्वाचन अधिकृत बुद्धप्रसाद पोडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनाल लगायतको उपस्थिति रहेको थियो।
प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष ८७ हजार १ सय ५७ र महिला ८४ हजार ४ सय ९५ छन्। जिल्लामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ।

