पौष २५ , अर्घाखाँची। लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल (नीलम) को कविता सङ्ग्रह जिजीविषाको लय र गजलकार डिल्लीराज घिमिरे (सङ्गम) को गजल सङ्ग्रह भँगेरी को संयुक्त विमोचन सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव तिर्थराज आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष कमल पोखरेलले उपस्थित महानुभावलाई स्वागत गर्नुभएको थियो।
कविता सङ्ग्रह जिजीविषाको लय माथि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुव बहादुर खत्रीले टिप्पणी गर्नुभएको थियो। त्यसैगरी गजल सङ्ग्रह भँगेरी माथि कल्पना मरासिनी र विष्णु प्रसाद वस्यालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमसहित विष्णु प्रसाद वस्याल, कल्पना मरासिनी, कमल पोखरेल, तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायत अन्य साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो।
छुट्टै अतिथि नछुट्याई उपस्थित सबै महानुभावको सम्मान गर्दै सामूहिक रूपमा कृतिको विमोचन गरिएको उक्त कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको आयोजकले जनाएको छ।

