रुद्रमणि भुसाल-पुस १४,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले पीएनसी होम भिजिट सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत सुत्केरी आमा तथा नवजात शिशुलाई घरमै पुगेर प्रदान गरिँदै आएको स्वास्थ्य सेवाको प्रगति, उपलब्धि, चुनौती र सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत आठवटै वडाका स्वास्थ्य चौकीका इन्चार्ज र कार्यक्रम सम्पर्क व्यक्ति, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
पीएनसी होम भिजिटले सुत्केरी आमाको स्वास्थ्य अवस्था, शिशुको पोषण, खोप, सरसफाइ तथा सम्भावित जोखिमको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ।
कार्यक्रममा आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउन नियमित अनुगमन, स्वास्थ्यकर्मीको क्षमता विकास र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उपाध्यक्ष मणि पन्थीको जोड छ । यस किसिमका समीक्षा कार्यक्रमले मातृत्व तथा शिशु मृत्यु दर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको भनाइ रहेको छ। छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०८१।८२ मा १९८ जना आमा र बच्चाको सुत्केरी भएको ४२ दिनको अवधिमा दुईपटक घरमै गएर र दुईपटक स्वास्थ्य संस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा परामर्श प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेको भनाइ छ। कार्यक्रम स्वास्थ्यकर्मी मेघराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो।

