अर्घाखाँची । समाजसेवा, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानको संरक्षणलाई जीवनको केन्द्रमा राख्दै आएका अर्घाखाँचीमा चिनिएका नारायण प्रसाद खनाल संघीय संसद् निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
दलीय सीमाभन्दा बाहिर रहेर जनताको पक्षमा काम गर्दै आएका खनाल इमानदार छवि र निरन्तर सेवाका कारण परिचित छन्। कुनै पनि राजनीतिक दलको औपचारिक सदस्यता नलिई स्वतन्त्र र उत्तरदायी नेतृत्व सम्भव छ भन्ने उदाहरण आफूले प्रस्तुत गर्दै आएको उनको दाबी छ।
लामो समय विदेशमा बस्दासमेत उनले देश र विदेशमा रहेका नेपाली समुदायका समस्या र सरोकारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सेवा, निष्ठा र पारदर्शितालाई आफ्नो राजनीतिक मूल्य ठान्ने खनाल समाजसेवामा देखाएको योगदानका कारण राष्ट्रपति कार्यालयबाट ‘समाजसेवा पदक’बाट सम्मानित भइसकेका छन्।
श्रीकृष्ण गौशाला नरपानीका संचालक समेत रहेका खनाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवसेवामा अग्रणी भूमिका खेल्दै आएका छन् । भ्रष्टाचारमुक्त शासन, पारदर्शी कार्यशैली र परिणाम देखिने विकासको पक्षमा उभिएका हुन् । मौलिक धर्म, संस्कृति र पहिचानको संरक्षणसँगै सुशासन र जनउत्तरदायी राजनीति नै समृद्ध नेपालको आधार हुने उनको स्पष्ट धारणा रहेको बताएका हुन् ।
उनले विकासलाई केवल सडक र भवनमा सीमित नगरी शिक्षा, स्वास्थ्य, रोजगारी, युवाशक्ति परिचालन र सामाजिक न्यायसँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाएका छन्। वर्तमान राजनीतिक अवस्थाप्रति जनआकांक्षा बढ्दै गएको बेला खनालको स्वतन्त्र उम्मेदवारीलाई अर्घाखाँचीमा नयाँ विकल्प र आशाको संकेतका रूपमा हेरिएको उनका निकटहरुले बताएका हुन् ।

