काठमाडौं – नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्राको विवरण सार्वजनिक गर्दै उनले पार्टी नेतृत्वमा थप जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका हुन् ।
२०२८ साल मालारानी-५ बाँगीमा जन्मिएका भुसालले २०४१ सालमै आदर्श मावि खनदह अर्घाखाँचीबाट अनेरास्ववियु (एकताको पाँचौं) मार्फत संगठित राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४६ को जनआन्दोलनमा पाणिनि क्याम्पस अर्घाखाँचीमा अध्ययनरत रहँदा सक्रिय भूमिका खेलेका उनी २०४७ सालमा नेकपा एमालेको सक्रिय दल सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए।
गाउँदेखि जिल्लासम्म संगठन निर्माणमा खारिएका भुसाल २०५४ सालमा तत्कालीन बाँगी गाविस अध्यक्षमा निर्वाचित भए। २०५४ देखि २०७९ सम्म जिल्ला कमिटी सदस्य रहँदै बीचमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी अध्यक्षको जिम्मेवारी पनि सम्हाले। २०७८ र २०८१ का जिल्ला अधिवेशनबाट लगातार दुई कार्यकाल सर्वसम्मत रूपमा अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष चयन हुनु उनको संगठनात्मक क्षमताको प्रमाण हो।
२०७९ को स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनविरुद्ध एमाले एक्लैले ५३ प्रतिशत जनप्रतिनिधि जिताउन सफल हुनु, संघ र प्रदेश निर्वाचनमा विपक्षी गठबन्धनलाई क्लिन स्वीप गर्नु उनका नेतृत्वमा अर्घाखाँचीमा एमालेको बलियो पकड स्थापित भएको संकेत हो। यही उपलब्धिका कारण पार्टी केन्द्रबाट समेत सम्मानित भएका थिए ।
द्वन्द्वकालमा २०६१ सालमा तत्कालीन माओवादीद्वारा घरको सम्पत्ति लुटपाट भई तीन वर्ष परिवारसहित विस्थापित जीवन बिताएको पीडा बोकेका भुसाल आज पनि पार्टी र जनताको पक्षमा अडिग देखिन्छन्।
छैटौं देखि एघारौंसम्म लगातार राष्ट्रिय महाधिवेशन प्रतिनिधि बनेका अनुभवी नेता भुसालको केन्द्रीय सदस्य उम्मेदवारीलाई संगठन, संघर्ष र परिणाम दिएको नेतृत्वको रूपमा हेरिएको छ। अर्घाखाँचीबाट केन्द्रीय नेतृत्वमा सशक्त आवाज उठाउने दाबीसहित उनको उम्मेदवारीलाई उनका शुभचिन्तकहरु द्वारा फोन कल, सामाजिक संजाल मार्फत सफलता सहित बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

