अर्घाखाँची – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेसँगै अर्घाखाँचीमा पनि राजनीतिक तापक्रम तीव्र बढेको छ। जिल्लाका युवा नेता तथा समाजसेवी इन्द्रमणी पौडेलले अर्घाखाँचीबाट नेपाली कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जेनजी आन्दोलनपछि सक्रिय बनेको युवा पुस्ता र शुभेच्छुकहरूको निरन्तर आग्रहलाई सम्मान गर्दै पौडेलले जिम्मेवारीबाट पछि हट्न नसक्ने बताए। “धेरै युवा, शुभचिन्तक र साथींहरूले तपाईं उठ्नुपर्छ भनेर दबाब दिइरहनुभएको थियो। विस्तृत छलफलपछि म यसपटक अर्घाखाँची सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,” पौडेलले भने।
पार्टीभित्र समाजसेवी, इमानदार र युवामैत्री नेतृत्वका रूपमा परिचित पौडेल गत महाधिवेशनमा अर्घाखाँची सभापतिका बलिया प्रत्याशीका रूपमा उदाएका थिए। गत चुनावमा केशव श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा पौडेल केही मतअन्तरले उपविजेता बनेका थिए। त्यसयताबाट उनले निरन्तर संगठन विस्तार, जनसम्पर्क र युवा परिचालनलाई प्राथमिकतामा राख्दै क्षेत्रभर प्रभाव बढाएका छन्।
गगन थापाले केन्द्रमा नयाँ पुस्ताको नेतृत्वको ढोका खोल्दै उम्मेदवारी दिएपछि स्थानीय तहमा पनि परिवर्तनको लहरले अर्घाखाँची तातिएको छ। अर्घाखाँचीमा पौडेलको उम्मेदवारी घोषणाले कांग्रेसभित्र नयाँ प्रतिस्पर्धा, ऊर्जा र नेतृत्व नविकरणको बहसलाई अझै बलियो बनाएको बुझिएको छ ।
जिल्लाभरका युवा, विद्यार्थी, शुभेच्छुक र संगठनका कार्यकर्ताहरूले पौडेलको कदमलाई स्वागत गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने अवसर आएको टिप्पणी गरेका छन्। पौडेलले भने “कुनै प्रकारको व्यक्तिगत लाभको पद होइन, संगठन र पार्टीलाई मजबुत बनाउने उद्देश्यले उम्मेदवारी दिएको हुँ। कांग्रेस अर्घाखाँचीलाई एक स्वच्छ, सक्रिय र जिम्मेवार संरचनामा रूपान्तरण गर्नु नै मेरो लक्ष्य हो।”
अर्घाखाँचीमा अब कांग्रेस सभापति चुनाव रोचक, प्रतिस्पर्धात्मक र ऐतिहासिक हुने संकेत देखिएको छ। कांग्रेसभित्र युवा पुस्ताको चहलपहल बढिरहेको बेला पौडेलको यस्तो निर्णयले पार्टीभित्र संयमता, समन्वय र नयाँ शैलीको राजनीतिलाई बलियो सन्देश दिएको नेता तथा कार्यकर्ताहरूको टिप्पणी छ।

