अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका भाइ खुबिराम आचार्यले आफूले अबैध रूपमा काठ लिएको भन्ने समाचारहरू असत्य र भ्रामक भएको बताएका छन्। केही मिडिया, व्यक्ति र सामाजिक सञ्जालमा आएका आरोपबारे उनले औपचारिक प्रतिक्रिया दिँदै सम्पूर्ण प्रक्रिया कानुनअनुसार पूरा भएको स्पष्ट गरेका हुन् ।
दस्तुर तिरेको भौचर सार्वजनिक गर्दै घर मर्मतका लागि आवश्यक पर्ने काठ सामुदायिक बन तथा डिभिजन बन कार्यालय अर्घाखाँचीमार्फत तोकिएको दस्तुर तिरेर प्राप्त गरेको बताएका हुन्। घरायसी झ्याल–ढोका मर्मत, फर्निचर निर्माण तथा व्यक्तिगत प्रयोजनका लागि काठ किन्न पाउने व्यवस्था सबै नागरिकका लागि बराबर रूपमा लागू हुन्छ। डिभिजन बन कार्यालयको आन्तरिक खपत कोटाबाट जो कोहीले नियमअनुसार किन्न सक्ने काठ नै आफूले लिएको उनको दाबी छ ।
“यो कानुनले दिएको अधिकार हो। यसलाई सत्ता र शक्तिसँग जोड्नु अर्थहीन आरोप हो,काठ कानुनी प्रक्रिया पूरा गरेर दस्तुर तिरेर लिएको हुँ”उनले भने। आचार्यले डिभिजन बन कार्यालयलाई राजस्व तिरी छुट पुर्जी लिएर काठ ल्याएको भन्दै आफ्नो काठ वैध रहेको दाबी गरेका हुन् । “यदि मैले बुझाउनुपर्ने राजस्वमा हिनामिना गरेको प्रमाणित भयो भने कानुनअनुसार सजाय भोग्न तयार छु” उनले भने।
गलत सूचना फैलाउने प्रवृत्ति रोक्न आग्रह गर्दै “समाजमा भ्रम फैलाउनेहरू जिम्मेवार बन्नुपर्छ” उनले भने। आवश्यक परेमा सम्बन्धित निकायमै गएर सबै प्रक्रियाबारे बुझ्न समेत आग्रह गरेका छन्।

