अर्घाखाँची । अर्घाखाँची मालारानी गाउँपालिका–५ बाँगी गोवदीका वसन्त खड्का (माइला) करिब एक दशकदेखि गाउँमै बसेर खसी, बोका र बाख्रा पालन तथा बिक्री व्यवसायमा सक्रिय छन्। गाउँमै रमाएर सानो स्तरबाट व्यवसाय शुरुआत गरेका खड्काले समयसँगै अनुभव बटुलेका छन् । उनले व्यवसायलाई राम्रोसँग स्थिर बनाउन सफल भएका हुन् ।
बीचमा केही वर्षका लागि वैदेशिक रोजगारीमा कतार गएका खड्का फर्किएपछि पुनः यही व्यवसायमै लागे। विदेशमा भएको मेहनतले सिकेका सीप र आर्थिक दुबै लाई उनले पशुपालनमा लगानी गरे। निकै मिहिनेती खड्का अहिले दैनिक हेरचाह, आहार व्यवस्थापनदेखि बजारमा बिक्रीसम्म सबै काम स्वयम् सम्हाल्छन्। बिहानै उठेर गाउँघर गुल्मी प्युठानको सिमाना सम्म पुगेर खसी बोका ल्याउने पनि गर्छन् ।
गाउँमै बसेर गर्ने यो पेशाले उनलाई नियमित आम्दानी मात्र दिएको छैन, परिवारलाई सगाउने मन लाई आत्मसन्तुष्टि पनि दिएको खड्का बताउँछन्। आइतबार अर्थात आज ९ वटा बोका खसी बेचेको बताए । अझै खोरमा ४५ वटा बोका खसी,२१ वटा पाठापाठी रहेको बताउँछन् । बारी, गोठ र नजिकैको जङ्गल क्षेत्रबाट सहजै उपलब्ध हुने घाँसचारा र स्थानीय बजारमा बोका–बाख्राको स्थिर मागले उनको व्यवसाय अझ फस्टाएको छ ।
विदेशको तातो घाम र अनि हेपिनु भन्दा स्थानीय युवालाई विदेशिने सोचभन्दा गाउँमै केही नयाँ सुरु गर्न सकिन्छ भन्ने प्रेरणासमेत आफ्नो कामले दिएको उनी बताउँछन्।

