काठमाडौं । नेकपा (एमाले)ले नेपालका सबै जिल्लामा आज सडकमै उत्रिने कार्यक्रम छ । प्रत्येक जिल्लाको सदरमुकाम वा प्रमुख सहरमा जनसभा आयोजना हुने कार्यक्रममा केन्द्रीय नेताहरू सहभागी हुने छन्। पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई प्रदेश–जिल्ला अनुसार जिम्मेवारी बाँडेर पठाइएको एमाले प्रचार विभागले जनाएको छ।
पार्टी महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा हुने सभामा बोल्ने तय छ। यसैगरी, सचिव छविलाल विश्वकर्मा रुपन्देहीतिर, र सचिव पद्मा अर्याल झापाको बिर्तामोडतिर लागेका छन्।
आजका प्रदर्शनमा एमालेले तीन विषयलाई मुख्य एजेन्डा बनाएको छ। पहिलो, विघटित संसद पुनःस्थापना गर्नुपर्ने। दोस्रो, जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएका घटनाको निष्पक्ष छानबिन। तेस्रो आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानूनी कारबाही गर्ने।
यसअघि पार्टीले कात्तिक २२ मा वडास्तर, र २५ मा स्थानीय तहमा प्रदर्शन गरिसकेको थियो। यही श्रृंखलामा मंसिर ६ गते काठमाडौंमा ठूलो जनसभा आयोजना गर्ने तयारी भइरहेको नेकपा एमालेले जनाएको हो ।

