अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जेन्जी अभियानको नाममा भइरहेको गतिविधि मूल जेन्जीको भावना नभएको बताएका छन्। नेकपा एमाले सन्धिखर्क नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सुरु भएको जेन्जीको आवाजलाई अराजक समूहले विकृत बनाइदिएको आरोप लगाए।
एमाले वा अन्य कुनै पनि राजनैतिक पार्टीप्रति घृणा फैलाउने अभियानले वास्तविक जेन्जीको मुद्दा कमजोर पार्ने काम गरेको छ। “आन्दोलनको नाममा पार्टी कार्यालय जलाउने, मुख्य मन्त्रीको निवासमा आगजनी गर्नेहरू असली जेन्जी होइनन्। यो योजनाबद्ध रूपमा गरिएको अराजक गतिविधि हो।”उनले भने
यसैबीच प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एमालेका केन्द्रिय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको वर्तमान परिस्थिति, संगठन विस्तार, आर्थिक पारदर्शिता र आगामी राजनीतिक रणनीतिबारे विस्तृत प्रशिक्षण दिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद्का सदस्य नरेन्द्रकुमार क्षेत्री र जनार्दन खनालले संगठनको भूमिकाबारे मार्गदर्शन दिएका थिए। नेपाल महिला संघकी केन्द्रिय सचिवालय सदस्य बिजुला रायमाझीले संगठनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि र सहभागिता विस्तारका विषयमा प्रशिक्षण दिइन्।
कार्यक्रम नगरकमिटी अध्यक्ष कुशल भुसालको अध्यक्षतामा सम्पन्न भयो। उपाध्यक्ष नारायण खड्काले स्वागत मन्तव्य दिए भने सञ्चालन नगर सचिव तुल्सी रायमाझीले गरेका हुन् ।

