अर्घाखाँची — अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिका–१, चिदीका खन्नेबास पाँडेटोल निवासी ७४ वर्षीय मुक्तिराम आचार्यले आज जीवनमा पहिलो पटक नेपाली नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।
छत्रदेव गाउँपालिका–१ का वडाध्यक्ष काजिबाबु ज्ञावाली, वडासदस्य हरिप्रसाद पाण्डे र कार्यपालिका सदस्य देवकला बिक ताम्राकारको विशेष पहलमा जिल्ला प्रशासन कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा आचार्यलाई नागरिकता र परिचयपत्र हस्तान्तरण गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञावाली र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतका अधिकारीहरूको उपस्थिति थियो।
लामो समयदेखि नागरिकता विहीन रहेका आचार्यले आफ्नो नजिकको नाता प्रमाणी गर्ने कोहि नभएकोले अहिलेसम्म नागरिकता पाउन सकेका थिएन ।आजको दिनलाई जीवनको महत्वपूर्ण क्षणका रूपमा वर्णन गर्दै सहयोगी सबै पक्षप्रति आभार व्यक्त गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका पदाधिकारी र गाउँवासीको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाले नागरिकताको अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे। यस अभियानमा सुरुदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका वडासदस्य हरिप्रसाद पाण्डेलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको थियाे ।