काठमाडौं । रास्वपा बाट विद्रोह गरेकी नेतृ सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रकाशित कवितामा समर्थक र आलोचक दुबै खालका प्रतिक्रियामध्ये अर्घाखाँचीका रास्वपा सभापति हरि प्रसाद भुसालको टिप्पणी विशेष ध्यान खिच्ने खालको बनेको छ।
सुमना श्रेष्ठले आफ्ना राजनीतिक प्रतिवद्धता र आलोचकहरूलाई कविता मार्फत तीव्र जवाफ दिएकी हुन् । उनले ‘म अवसरवादी हुँ’ शीर्षकको कवितामा जनताको पीडामा मलम लगाउने, सुशासनको खोजी गर्ने र देशलाई पुनः उठाउने अभियानलाई नै अवसरवादको अर्थमा व्याख्या गरेकी छन्।
श्रेष्ठले लेखेकी छन् “यदि सेवा गर्नु अपराध हो भने म त्यो अपराध स्वीकार्छु। यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने म पागलपन स्वीकार्छु।” उनको यो भावनात्मक कवितालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित भनिएको छ।
श्रेष्ठको उक्त पोस्टले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएको छ। समर्थक र आलोचक दुबै खालका प्रतिक्रियामध्ये अर्घाखाँचीका रास्वपा सभापति हरि प्रसाद भुसालको टिप्पणी विशेष ध्यान खिच्ने खालको बनेको हो ।
सभापति भुसालले लेखेका छन् :
“पहिलो कुरा — तपाईं मनपर्ने नेतामध्ये एक हुनुहुन्छ, अपेक्षा अझै जिवित छ।
दोस्रो कुरा — छोराले अंश माग्न पाइन्छ, तर शत्रुले भाला रोपेर अचेत बनाएको बाउलाई अस्पतालमै पुगेर अंश माग्ने छोरा जतिसुकै तर्क गरे पनि अपराधी हुन्छ। सके बाउको उपचारमा तन, मन, धन लगाऊ, नसके बाउ सन्चो हुन्जेल कुर्नु।”

