लक्ष्मी खनाल-अर्घाखाँची, असार १० ।
भूमिकास्थान नगरपालिका भित्र नवप्रवेशी शिक्षकहरूको लागि आयोजित दुई दिने सेवा प्रवेश तालीम सम्पन्न भएको छ ।
२०८१ साल चैत १२ गते प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्ति पाएर नगरभित्रका विभिन्न विद्यालयहरूमा कार्यरत ३२ जना नवप्रवेशी शिक्षकहरूलाई लक्षित गर्दै संचालन गरिएको तालीम आज समापन गरिएको हो ।
असार ९ गतेदेखि सुरु भएको तालीम आज एक विशेष कार्यक्रमका साथ तालीममा कुशल प्रशिक्षकमार्फत विद्यालय प्रवेशसँगै देखिने समस्या, समाधानका उपाय, पाठ्यक्रम र निर्देशिकाको अध्ययन, वार्षिक तथा दैनिक कार्ययोजना तयारी, पाठ्यक्रम अन्तर्गत योग अभ्यासका क्रियाकलापहरूको प्रभावकारी अभ्यास र शिक्षण क्रममा देखिने समस्याहरू समाधान गर्न आवश्यक सीप सिकाइएको थियो । साथै, विभिन्न वेबसाइटमार्फत आवश्यक सामग्री खोजी गर्ने तरिका र शिक्षक संजाल तथा सहयोग आदान–प्रदानका महत्वबारे पनि व्यापक छलफल र अन्तरक्रिया गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीवन नारायण कोइरालाले शिक्षकहरू देशको भविष्य निर्माणकर्ता भएकाले आफूलाई सधैं अपडेट गर्दै पेशामा प्रतिबद्ध भएर अघि बढ्नुपर्ने बताए । शिक्षण पेशालाई केवल जागिर नभई समाज परिवर्तनको अभियानका रूपमा लिन शिक्षकहरूलाई आग्रह गरे ।
कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद बेल्बासेको अध्यक्षता, वरिष्ठ कर्मचारी रामु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सहभागी शिक्षकहरूका तर्फबाट लक्ष्मी खनाल र विष्णु प्रसाद आचार्यले मन्तव्य व्यक्त गर्दै तालीम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।
तालीममा सहभागी सबै ३२ जना नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।