अर्घाखाँची । नेकपा (एमाले) का नेता रामजी प्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत राजधानी काठमाडौँ बाहिर हुनुपर्ने बताएका छन् ।
नेता घिमिरेले डेराको जीवन बिताएर फर्किएका नेताहरूप्रति कटाक्ष गर्दै भनेका छन् “अब तपाईहरूले राजधानी काठमाडौँबाट बाहिर सार्नुस्, तबमात्र आधारभूत जनताको सुरक्षाभित्र आउनु हुनेछ, नत्र जनता र नेताबीचको दूरी बढ्दै जानेछ र नेताहरू आफैं असुरक्षित बन्दै जानेछन्।”
कडा टिप्पणी गर्दै नेता घिमिरेले भने काठमाडौँका जनताले राजधानीकै बोझले थकित भइसकेका छन्। खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जाम र वायु प्रदूषणले उनीहरू पीडित रहेको उल्लेख गर्दै उनले भने “राजधानीका संरचना जोगाउन पनि कठिन भइसकेको छ। जनघनत्वले शहर दबिँदै गएको छ।”
लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार तथा विकास समितिका सभापति समेत भएका अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य घिमिरेले उदाहरण दिँदै भने “अष्ट्रेलियाले सिड्नी र मेलबर्नपछि नयाँ राजधानी विकास गरेको छ। नेपालले पनि समान भूगोल र समविकासका लागि यस्तै निर्णय लिनु जरुरी छ।”
राजधानी काठमाडौँका जनताले पनि यसबारे असन्तुष्टि जनाइरहेको उनको भनाइ छ। उनले कडा चेतावनीको स्वरमा लेखेका छन् “१०–१५ वर्षको अन्तरालमा भड्किने जनअसन्तोष नियन्त्रण गर्न अब सुरक्षा निकायले पनि नसक्ने देखियो। चेतना भया!”

