अर्जुन खनाल
अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले छत्रदेव गाउँपालिकामा ११ वटा सडकलाई बजेट पारेर शुरु गरेको र व्यवस्थित सडक बनाउने काम भैरहेको बताए । उनले छत्रगञ्ज–कुँडुले–अर्घातोष लगायतका सडकलाई बजेट पारेर काम गरेको उनले बताए ।
‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडक पिच हुँदैछ, त्यहाँ मैले पहल गरेर बजेट पारेको हुँ,’ छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आचार्यले भने, ‘ठूलापोखराको भाग्य र भविष्य कोर्ने ‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडकलाई व्यवस्थित गर्दै पिच गर्ने काम धमाधम भएको छ । छत्रदेव सहित ठूलापोखरामा भित्रि सडकलाई पनि बजेट परेर व्यवस्थित गरेको छु ।’
ठूलापोखराको सडक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि उद्यम विस्तार लगायतका काममा जनताले निर्वाचित गरेपछि सच्चा हुलाकीको काम गरेको उनले बताए । ‘२०७४ सासलमा जनताले भोट दिएर जिताएकै कारण धेरै विकास योजना भित्राएर काम गर्न सफल भएको हुँ, त्यसको सबै स्रेय जनता नै हुन,’ उनले भने, ‘मैले शुरु गरेका कामलाई पुरा गर्ने र नयाँ ढंगले काम गर्ने मौका दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’