काठमाडौं – बाराको सिमरामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष सम्मानका साथ स्वागत गरिएको छ।
वीरगञ्जतर्फ जाँदै गर्दा सिमरा विमानस्थलमा अवतरण गर्ने क्रममा उनलाई ५१ किलो तौलको विशाल माला लगाएर स्वागत गरिएको हो।
भण्डारीलाई स्वागत गर्न नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहसहित स्थानीय नेता कार्यकर्ता उपस्थित थिए।
विमानस्थल बाहिर लामबद्ध भएर प्रतीक्षा गरिरहेका कार्यकर्ता र स्थानीयसँग पूर्वराष्ट्रपति भण्डारीले हात मिलाउँदै अभिवादनसमेत गरेकी थिइन्।

