अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आगामी राजनीतिक प्रतिस्पर्धामा जनताको प्रत्यक्ष पहुँचमा पुगेर समर्थन जुटाउने आफ्नो स्पष्ट अठोट व्यक्त गरेका छन्। पत्रकार संग भेटघाट गर्दै जनतानै शक्तिशाली भएकोले अबको यात्रामा गाउँ–गाउँ, घर–घर पुगेर साक्षात् भगवान् समान जनताको हात थाम्ने प्रतिबद्धता व्यक्त गरे।
चौहानले भने, “जनताले दिनुभएको विश्वास र माया नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। अबको प्रतिस्पर्धा चकचकी भाषण वा कागजी योजनामा मात्र सीमित हुने छैन, म आफैं जनताको घर–आँगनमा पुगेर उनीहरूको सुख–दुःख सुन्नेछु।”
उनले पुनः थपे “पद सर्वोच्च होईन ,राजनीति पद वा शक्ति प्राप्तिको मात्र साधन होइन, यो त जनताको सेवा गर्ने अवसर हो। त्यो अवसरको सदुपयोग गर्न म सधैं जनताको बीचमा रहनेछु।”
उनले पार्टीको संगठन विस्तार, युवा परिचालन, र जनताको प्राथमिकता अनुसारका योजनामा जोड दिने बताए। अध्यक्ष चौहानका अनुसार, अर्घाखाँचीलाई आर्थिक र सामाजिक विकासमा नमुना जिल्ला बनाउने उद्देश्यले आफ्नो नेतृत्वको कार्ययोजना तयार भइरहेको बताए ।
गाउँस्तरमा संगठन बलियो बनाउन सबै जिल्लाभरका शुभचिन्तकहरु लाई सक्रिय भएर काम गर्न आग्रह गरेका थिए। चौहानले पार्टी भित्रको एकता, जनताप्रति जवाफदेहिता र विकासमा प्रतिबद्धता नै आगामी चुनावी यात्राको मुख्य आधार हुने स्पष्ट पारे।

