काठमाडौं – अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेलीस्वरूप सार्वजनिक गरेको गीत ‘नक्कले भिनाजु ८ – है माया’ ले युट्युबमा ७ लाखभन्दा धेरै दर्शकको मन जितेको छ । चर्चित गायक, सर्जक तथा निर्देशक बिशाल रायमाझीको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोले तीजको रौनकलाई अझ झन चम्किलो बनाएको छ ।
शुक्रबार साझँसम्म ७ लाख १६ हजार ६ सय ५५ पटक हेरिएको यो गीतले छोटो समयमा नै दर्शक–श्रोताको अपार माया कमाउन सफल भएको हो ।
बिगत सात संस्करण जस्तै यसपटकको ‘नक्कले भिनाजु ८’ पनि टीका कमेडी, गाउँले स्वाद र सांगीतिक प्रस्तुतिको अनुपम मिश्रणका कारण लोकप्रिय बन्दै गएको छ । गीतमा बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको स्वर रहेको छ भने शब्द, संगीत र निर्देशन बिशालकै छन् । संगीत संयोजन सुनिल परियार, रेकर्डिङ सुमन राना र खुमानसिंह राना, मिक्सिङ–मास्टरिङ कुमार रानाले गरेका छन् ।
भिडियोमा अलिना रायमाझी, सन्चिता बोलखे, अभिषेक खड्का, शिबु पाण्डे, माया रायमाझी लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ । मुकेश नेपालीको कोरियोग्राफी, राजकुमार मगरको सम्पादन र कलर, राजकुमार फिल्म्सको पोस्ट प्रोडक्सन, लक्ष्मण चौहानको पोस्टर डिजाइन र सरोज बुढाथोकीको मेकअपले भिडियोलाई सम्पूर्ण बनाएको छ । ‘बिशाल रायमाझी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दर्शक–श्रोताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
गायक रायमाझी परिवारले यसअघि पनि ‘पन्जे बाजा लाहुरे टाँसेको’, ‘साइनो हरायो’, ‘गाउँका लाउरे’, ‘पूर्वे धरान’, ‘संगिनी’ लगायतका गीतमार्फत निरन्तर चर्चा कमाउँदै आएका छन् । ‘नक्कले भिनाजु’को नाममा तीज गीतको शृङ्खलाले आफ्नो अलग पहिचान बनाउँदै लगेको छ । रायमाझी परिवारले दर्शक–श्रोतासँग सधैंझैँ माया, सुझाव र समर्थनको अपेक्षा राख्दै लाइक, कमेन्ट र सेयरमार्फत साथ दिन आग्रह गरेका छन् ।
नक्कले भिनाजुको नयाँ स्वाद, तीजको झल्को र गाउँले रमाइलो खोज्नेहरूका लागि यो गीत एक पटक अवश्य हेर्नु पर्ने तीज कोसेली बनेको छ ।
भिडियो :