अर्घाखाँची । अर्घाखाँची जिल्लामा बाँदर र बँदेल नियन्त्रणका लागि नाङ्गो तारबाट करेन्ट प्रवाह नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक विज्ञप्ति जारी गर्दै बाँदर नियन्त्रणका लागि भइरहेको प्रयास र यससँग जोडिएका केही चिन्ताजनक र खतरनाक अभ्यासबारे जानकारी गराएको हो ।
मकै लगायतका बालीनालीमा बाँदर तथा बँदेलले पारेको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालयमार्फत जिल्लाका विभिन्न वडाहरूमा २० जना बाँदर हेरालु खटाइएको छ। साथै स्थानीय तहहरू र सम्बन्धित निकायलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ।
यसैबीच विज्ञप्ति जारी गर्दै बाँदर नियन्त्रणका नाममा जिल्लाका केही स्थानहरूमा किसानहरूद्वारा अनाधिकृतरूपमा नाङ्गो विद्युत तारमार्फत करेन्ट प्रवाह गर्ने खतरनाक अभ्यास बढ्दै गएको भन्दै प्रशासनले गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्तो कार्यले जनधनको क्षति हुने सम्भावना रहेको र विगतमा यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरी कारबाहीमा गरेको पनि प्रशासनले स्मरण गराएको छ।
“नाङ्गो तारमा करेन्ट प्रवाह गर्ने कार्यले निर्दोष नागरिकको ज्यान जाने खतरा रहन्छ, त्यसैले यस्तो गैरकानूनी अभ्यास तत्काल रोक्न जरुरी छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रशासनले नागरिकलाई यस्ता जोखिमपूर्ण कार्य नगर्न र अन्य कसैले यस्तो गरेमा तत्काल नजिकको प्रहरी, वडा कार्यालय, पालिका कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई खबर गर्न आग्रह गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट मिति २०८२ साउन ८ गते बसेको बैठकमार्फत दीर्घकालीन र व्यावहारिक समाधान खोज्न नेपाल सरकार समक्ष आवश्यक प्रस्ताव समेत पठाइएको जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको दृष्टिकोणले सचेत रहन र संयमित व्यवहार अपनाउन सबैलाई अनुरोध गरिएको छ।
विज्ञप्ति: