चितवन, साउन ६ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननेता बिपी कोइरालाप्रति सच्चा सम्मान गर्न चाहनेले अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नुपर्ने बताए।
भरतपुर–११ मा आयोजित बिपी स्मृति भवन तथा वडा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले भने, “बिपीले आफ्नो लागि होइन, जनताको लागि दुख सहनुभयो, हामीले पनि त्यही बाटो समाउनुपर्छ।”
थापाले कांग्रेसभित्र रहेको ‘हुटहुटी’लाई स्वीकार्दै भने, “हामी बिपीको सोच अनुसार हिँड्न नसकेको पछुतो काँग्रेसभित्र छ, त्यसैले त्यो बाटो पूरा गर्नु हाम्रो जिम्मेवारी हो।”
उहाँका अनुसार लोकतन्त्रदेखि गणतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाउँदै आएको छ। अब बिपीको सपना कार्यान्वयनमा ल्याउन नेता–कार्यकर्ताले जनस्तरसम्म काम पुर्याउनुपर्ने उनले बताए।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले काँग्रेसभित्रको एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए। “कांग्रेस एक भयो भने मात्रै देश बनाउने जिम्मा काँधमा आउँछ भन्ने सन्देश जनतामा जान्छ,” उनले जोड दिए।
यस्तै, नेताहरू उमा रेग्मी, मधु आचार्य, टेक गुरुङ, अञ्जनी श्रेष्ठ लगायतले बिपीको विचार बोकेर युवाले अग्रसरता लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा १५ कट्ठा जग्गामा रु ६६ लाख ३५ हजार लागतमा बनेको बिपी स्मृति भवनको उद्घाटन गरियो। जग्गा स्व. मैयादेवी श्रेष्ठद्वारा दान गरिएको थियो।

