सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१०, अर्घामा निर्माणाधीन अवस्थामा रहेको अर्घा भगवती विमानस्थल हाल पूर्ण रूपमा अलपत्र परेको छ । एक समय जिल्लावासीको गर्व र सम्भावनाको केन्द्र बनेको उक्त विमानस्थल अहिले झारपातले ढाकिएको, संरचना अधुरो र विकासको गति ठप्प भएको अवस्थामा पुगेको छ ।
पूर्वउपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीको विशेष पहलमा सुरु गरिएको विमानस्थलको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन । हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी न्यायिक हिरासतमा रहेका छन् ।
उक्त प्रकरणमा संलग्न अरूले सफाइ पाए पनि नेता रायमाझी अझै जेलमै छन् । उनी जेलमै रहँदा, अर्घाखाँचीबाट देश–विदेश गएका युवाहरूको ‘अब जहाज गाउँमै अवतरण गर्छ’ सरर आउने भन्ने सपना पनि ठप्प भएको हो ।
स्थानीय फुलमाया रायमाझीको पीडा यति सरल तर गहिरो छ –
“हामीले नेता पनि गुमायौं, सपना पनि। अब न विमानस्थलको काम चलेको छ, न आशा बाँकी छ।”टाेपबहादुर नहुँदा अरू नेताले बजेट हालेनन् ।”
जसरी नेता टोपबहादुर जेलमा छन्, विमानस्थल पनि त्यस्तै अलपत्र परेको छ । न अन्य नेताहरूको चासो देखिन्छ, न त कुनै निकायले पहल गरेको छ ।” रायमाझीले भनिन्
विदेशीएका युवा वर्गले विमानस्थल निर्माणसँगै जिल्लाको विकास, रोजगारी र आवत–जावतमा सहजता आउने अपेक्षा गरेका थिए । तर अहिले रनवे झारपातले ढाकिएको छ, भवन संरचना अधुरै छन् र कुनैपनि किसिमको काम अगाडि बढेको देखिँदैन ।
स्थानीय केशव भुसालले भावुक हुँदै भने ” म त्यो बाटो हिंड्नै छाडे , अलपत्र विमानस्थल देख्दा टोपबहादुरकै याद आउछ , एकदिन अर्घा भगवतीमा विमान अवतरण होस् ।”
विमानस्थल जस्तो महत्त्वपूर्ण पूर्वाधार यसरी अलपत्र बसेकोप्रति अर्घाखाँचीवासीहरूले चासो व्यक्त गरेका हुन। उनीहरूले सरकार तथा सरोकारवाला निकायलाई तत्काल परियोजना अघि बढाउन, पारदर्शिता कायम गर्न र विमानस्थललाई जनताको सेवा र विकासमा रूपान्तरण गर्न माग गरेका छन् ।