अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीले दिवंगत नेता नन्दबहादुर आचार्यको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दिवंगत नेता पार्टीका पथप्रदर्शक रहेको बताउँदै उहाँको निधनले अपुरणीय क्षति पुगेको बताए। भावुक हुँदै मुख्यमन्त्री आचार्यले नेता आचार्यसँगको राजनीतिक तथा पारिवारिक सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै मन्तव्य नै अधुरो छोड्नु परेको थियो।
दिवंगत नेताको श्रीमती तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य पनि मन्तव्यका क्रममा अत्यन्त भावुक बनेकी थिइन्।
कार्यक्रम नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, नरेन्द्रकुमार क्षेत्री, जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतको उपस्थिति रहेको थियो।

