कञ्चनपुर । छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी २८ वर्षीया कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ (क) प्रदेशसभा कार्यसमितिले आर्थिक सहायता प्रदान गरेको छ।
सभापति झंकरबहादुर खडका (पुरन)को नेतृत्वमा रहेको टोलीले मृतकका श्रीमान् पुरन दमाईं र तीन सन्तान आयुष, आशिष तथा आदित्यलाई रु २१ हजार ५ सय हस्तान्तरण गरेको हो। सहयोग मानवीय भावनाले स्वस्फूर्त रूपमा संकलन गरिएको खडकाले बताए।
उनले छाउपडीजस्ता हानिकारक परम्पराका कारण महिलाको जीवन संकटमा पर्नु दु:खद रहेको भन्दै यस्ता कूरीतिहरू अन्त्य गर्न सरकारी तथा सामाजिक पहल आवश्यक रहेको बताए।
प्रदेश कार्यसमितिका सदस्य उत्तमराज भट्टले छाउगोठ हटाउन मात्र नभई सोच परिवर्तन गर्न व्यापक सचेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिए। “छाउगोठ भत्काउनु मात्रै समाधान होइन,” भट्टले भने, “मानसिकता परिवर्तन नहुँदासम्म यस्ता घटना दोहोरिरहन्छन्।”