शोभाखर पन्थी,अर्घाखाँची ।
नेकपा एमालेका नेता पुनाराम भट्टराईको निधन भएको छ । ६५ बर्षीय भट्टराईको गएराती आफ्नै निवास भूनपा-१० धनचौरमा हटट्याकका कारण निधन भएको हो ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी सदस्य रहनु भएका उहाँले जिल्लाको राजनीतिक ,सामाजिक र शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । भट्टराई सेवा निवृत्त शिक्षक हुनुहुन्छ । लक्ष्मी आधारभूत विद्यालयमा लामो समय प्रधानाध्यापक रहेर कामगर्नु भएका उहाँले पछिल्ला बर्षहरुमा जनजागृती माध्यमिक विद्यालय धनचौरमा अध्यापन गरी सेवा निवृत्त हुनुभएको थियो । दिवंगत भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठनको नेता हुनुहुन्थ्यो । बिभिन्न संघ संस्थामा आबद्ध रहनु भएका उहाँ जनताको लोकप्रीय नेता हुनुहुन्थ्यो ।
दिवंगत नेता भट्टराईलाई अन्तिम श्रध्दाञ्जलि प्रकट गरी आज गच्छे घाटमा हिन्दु परम्परा अनुसार दाहा संस्कार गरिएको छ ।
उहाँको पार्थिव शरीरमा सम्मान स्वरुप नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओडाएर नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले अन्तिम श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।
उहाँको पार्थिव शरिरमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,लुम्बिनी प्रदेश कमिटी सदस्य केवी भुसाल,सिद्धिप्रसाद भुसाल,जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल,कार्यालय सचिव लिला बराल,एमाले नेताहरु युवराज श्रेष्ठ,प्रेमनारायण गैरे,पदम क्षेत्री,रेशम थापा,नेकपा समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान,सचिव हृदय भुसाल,सेवा निवृत्त राष्ट्र सेवक संघका अध्यक्ष कमल घिमिरे लगायत जिल्लामा क्रियासिल राजनीतिक दल,जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि,संघ संस्थाका प्रमुख , परिवारजन ,आफन्तजन र छरछिमेकीहरुले माला,अबिर तथा पुष्पगुच्छा अर्पण गरेर अन्तिम श्रद्धाञजली अर्पण गर्नु भएको थियो ।
नेकपा एमाले अर्घाखाँचीले आफ्नो पार्टीका अभिभावक पुनाराम भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएको छ । जिल्ला पार्टी अध्यक्ष पीताम्बर भुसालले दिवंगत भट्टराई पार्टीको जुझारु नेता,असल अभिभावक,समुदायको पथप्रदर्शक र दिन दु:खी तथा गरिवको साहरा भएको बताउनु भयो । आफु समेत सिङ्गो जिल्ला पार्टी उहाँको निधनले निकै मर्माहत भएको उहाँको भनाई थियो । अध्यक्ष भुसालले दिवंगत भट्टराईका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता प्रकट गर्दै ,संपू्ण परिवारजनमा समवेदना प्रकट गर्नु भएको थियो ।
दिवंगत नेता भट्टराईका श्रीमती ,२ छोरा र ३ छोरी हुनुहुन्छ ।

