काभ्रेपलाञ्चोक । आइतबार साँझ ६:३० बजेतिर आएको लेदोसहितको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीस्थित विरुवाडाँडा कालढुंगा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्राकृतिक प्रकोपका कारण राजमार्ग दुवै दिशाबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ। अवरुद्ध सडक खुलाउने प्रयासमा इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरू जुटिरहेका छन्।
पानीको वहावसँगै आएको लेदोका कारण सडकमा ठूलो मात्रामा अवरोध सिर्जना भएको र क्षतिको विवरण संकलन कार्य सुरु गरिएको बताइएको छ।