अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र श्री सुपादेउराली मन्दिर क्षेत्रमा केबुलकार सञ्चालन हुने भएको छ। सन्धिखर्क नगरपालिका वडा नं. ७ मा अवस्थित सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म बटम र टप स्टेसन राखेर केबुलकार सञ्चालन गर्न सन्धिखर्क नगरपालिकाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा सिफारिस गरेको छ।
पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासलाई ध्यानमा राख्दै असार १३ गते बसेको नगर कार्यपालिका बैठकले श्री सुपादेउराली केबुलकार प्रा.लि.लाई उद्योग दर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले चुनावी प्रतिबद्धता अनुसार एकवर्ष भित्र निर्माण सम्पन्न गर्ने तरिकाले कार्य तिव्ररुपमा अगाडि बढाएका हुन् ।
प्रमुख श्रेष्ठले भने, “चुनावमा मैले धार्मिक क्षेत्रको संरक्षण र पर्यटकीय विकासलाई प्राथमिकता दिने भनेको थिएँ। सुपादेउराली मन्दिर क्षेत्रमा केबुलकार सञ्चालन त्यसैको महत्वपूर्ण पाटो हो। यसबाट जिल्लाको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा ठुलो टेवा पुग्नेछ।”
केबुलकार निर्माण सम्पन्न भए पश्चात धार्मिक पर्यटकको सहज पहुँच हुनेछ भने समग्र अर्घाखाँची जिल्लाको भौतिक, आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

