काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई गैरनाफामूलक बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालको संविधानले नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नपाइने स्पष्ट उल्लेख गरेको बताइन् । तर व्यवहारमा निजी क्षेत्रको लगानीबाट सञ्चालित विद्यालय तथा स्वास्थ्य संस्थाहरु नाफा कमाउने माध्यम बन्न गएको भन्दै उनले आपत्ति जनाइन् ।
श्रेष्ठले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत बैठकमा राखिन् । उनले भनिन्, “नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालयहरु क्रमशः गैरनाफामूलक र लोककल्याणकारी सेवामूलक विद्यालयको रुपमा रहनेछन् भनेर प्रष्ट लेख्नुपर्छ ।”
उनले निजी विद्यालयहरुलाई १५ वर्षको अवधिपछि पूर्णरुपमा गैरनाफामूलक बनाइने नीति तथा कानुन तयार गर्नसमेत सरकारलाई आग्रह गरिन् । साथै, शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको मौलिक हक भएकाले नाफा होइन, सेवामूलक भावनाबाट अघि बढाउनुपर्ने उनको तर्क छ ।