अर्घाखाँची, असार ११ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले राम्ररी काम गर्ने व्यवसायीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए।
नगरप्रमुख श्रेष्ठले विकास निर्माणमा ढिलासुस्ती र कमजोर कामले जनतामा निराशा बढाउने बताएका हुन् । उनले समयभन्दा अघि योजना सकाउने युवा निर्माण व्यवसायी कविराम खनालको प्रसंशा गरेर धन्यवाद समेत दिए। “५ वर्षको ठेक्का १२ वर्षसम्म अल्झाउने, गुणस्तरहीन काम गर्नेहरूकै कारण जनता मारमा परेका छन्,” उनले भने, “त्यसैले अब समयमै र गुणस्तरीय काम गर्नेहरूलाई प्रोत्साहन गर्न आवश्यक छ।”
नगर प्रमुख श्रेष्ठले जनताको करबाट निर्माण हुने योजना समयमा, गुणस्तरका साथ सम्पन्न भए मात्र त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउने उल्लेख गरे। उनले नगरपालिकाले निर्माण क्षेत्रको निगरानी अझ कडा बनाउने जानकारी पनि दिए।
आगामी दिनमा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सार्वजनिक रूपमा सम्मान गरिनेछ भने लापरवाही र कमजोरी गर्नेहरूलाई कानुनी दायरामा ल्याइने नगरप्रमुख श्रेष्ठले बताएका हुन् ।