अर्घाखाँची, असार १० ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला पदाधिकारीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र सचिव हृदयकुमार भुसालको सञ्चालनमा बसेको बैठकले किसानको पीडा, जिल्लामाथिको अन्याय र पार्टी अभियानबारे गम्भीर छलफल गरेको छ।
बैठकले हालै लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्यमा चयन भएका नेताद्वय तारापति भट्टराई र दिनामणी बेल्बासेलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, देशभर सञ्चालनमा रहेको “सुशासन र रोजगारी, समाजवादको तयारी” अभियानको समीक्षासहित अर्घाखाँची जिल्लामा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले अहिलेको मुख्य कृषि सिजनमा रासायनिक मलको चरम अभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। किसानहरू खेतमा मल नपाएर हैरान भइरहेको अवस्थामा राज्यले सहज रूपमा निर्धारित मूल्यमा मल उपलब्ध गराउनुपर्ने माग बैठकबाट गरिएको छ।
साथै, सत्ता पक्षका कार्यकर्ताहरूको गैरजिम्मेवार र दम्भपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै जनतामाथि भइरहेको अन्याय रोक्न बैठकले चेतावनी दिएको छ।
अर्घाखाँचीमा बढ्दो बाढी–पहिरोको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी गर्न र सडक आवागमन सहज राख्न सबै तहका सरकार तथा सरोकारवालालाई सक्रिय बन्न आग्रह गरिएको छ।
त्यस्तै, संघ र प्रदेश सरकारले ल्याएको बजेटले अर्घाखाँची जिल्लालाई सौतेलो व्यवहार गरेको भन्दै बैठकले गहिरो असन्तोष व्यक्त गरेको छ। जिल्लाको विकास र पूर्वाधारमा पर्याप्त ध्यान नदिएको भन्दै जिल्लावासीको भावनाको कदर गर्न सरकारलाई सचेत गराइएको छ।
पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा दायर गरिएको मुद्दाप्रति बैठकले आपत्ति जनाएको छ। लोकतान्त्रिक गणतन्त्र र निष्पक्ष न्यायप्रतिको आस्था कमजोर पार्ने नियतसहित मुद्दा अघि बढाइएको ठहर गर्दै, अदालतबाट निष्पक्ष न्यायको अपेक्षा गरिएको जिल्ला अध्यक्ष चौहानले स्पष्ट पारे।
बैठकमा प्रदेश कमिटी सचिवालय सदस्यद्वय तारापति भट्टराई, दिनामणी बेल्बासे, प्रदेश सदस्य गणपति भुसाल, जिल्ला उपाध्यक्ष युवराज पौडेल, उपसचिव डेम नेपाली, पुष्पा भाट, नारायण भुसाललगायत नेताहरूको सक्रिय उपस्थिति रहेको थियो।

