अर्घाखाँची, असार ९ ।
भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी नियन्त्रण र दोषीमाथि कडा कारवाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
रास्वपा अर्घाखाँचीका जिल्ला सभापति हरि प्रसादको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै भिजिट भिसाको आडमा हुने मानव तस्करीका घटनाले देशको प्रतिष्ठा र नागरिकको भविष्य जोखिममा परेको भन्दै तत्काल गम्भीर कदम चाल्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही सरकारी संयन्त्र र कूटनीतिक नियोगको संलग्नतामा युवाहरूलाई दुबई हुँदै तेस्रो मुलुकमा पठाउने गिरोह सक्रिय रहेको भन्दै यसबारे निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठनको माग गरिएको छ।
रास्वपाले छानबिन समिति गठन मात्र नभई त्यसको संरचना, कार्यक्षेत्र र अधिकारसमेत स्पष्ट हुनुपर्ने बताएको छ। साथै, पीडितहरूलाई संरक्षण, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ।
“निष्पक्ष छानबिन, दोषीलाई कारवाही र पीडितलाई न्याय सुनिश्चित नगरिएसम्म हाम्रो संघर्ष रोकिने छैन,” ज्ञापनपत्र बुझाउँदै रास्वपा जिल्ला सभापति हरि प्रसादले भने।
रास्वपाले मानव तस्करीजस्तो संवेदनशील विषयमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने मागसमेत उठाएको छ।
रास्वपाले संसददेखि सडकसम्म जनचेतना दबाब सिर्जना गर्ने र हस्ताक्षर कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
ज्ञापनपत्र:


