भिम विश्वकर्मा, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक पाणिनि तपोभूमिमा यस वर्ष पनि भव्य रुद्राविशेष्क, श्रावणि मेला तथा बोलबम कार्यक्रम आयोजना हुने भएको छ।
श्रावण महिनाभर चल्ने यो मेला श्रावण १ गतेदेखि सुरु भई भाद्र १ गतेसम्म सञ्चालन हुनेछ। पाणिनि तपोभूमि धामका संरक्षक बाबा योगिराजका अनुसार गत वर्षजस्तै यो वर्षपनि बोलबम आयोजना गर्न लागिएको छ । यो १ महिनाको अवधिमा विभिन्न धार्मिक अनुष्ठान समेत हुनेछन।
प्रत्येक वर्षझैँ यस पटक पनि पाणिनि तपोभूमिमा दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। विशेषगरी श्रावण महिनामा भगवान शिवको पूजा आराधना गर्न र बोलबममा सहभागी हुन विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। २०६९ सालदेखि सुरु गरिएको श्रावणि मेलालाई यस वर्ष भब्य बनाउन र तपोभूमिको प्रचारमा समिति लागि परेको पाणिनि तपोभूमि धामका अध्यक्ष पुष्कर पोखरेललेले जानकारी दिनुभयो ।
मेलालाई व्यवस्थित र शान्तिपूर्ण बनाउनका लागि आवश्यक तयारीहरू सुरु भइसकेको आयोजकले बताएको छ। मेलाबाट आन्तरीक तथा बाह्य पर्यटक भित्राउने उदेश्य रहेको धामका सचिव हरि पोखरेलले जानकारी दिनुभयो। श्रावण ५ गते कालिगण्डकी गई त्यहाँको जल ल्याएर तपोभूमिमा जलार्पण गर्ने कार्यक्रम समेत रहेको छ । त्यसका साथै पाणिनिकै त्रिवेणि धाम, बाणगंगा धामबाट पनि जल ल्याएर जलार्पण गरिने कार्यक्रम रहेको र सो कार्यमा सबैलाई उपस्थित हुनको लागि सचिव पोखरेलले अनुरोध समेत गर्नुभयो ।
पाणिनि तपोभूमि पौराणिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो, जहाँ संस्कृत व्याकरणका प्रणेता महर्षि पाणिनीले तपस्या गर्नुभएको थियो । यस मेलाले धार्मिक महत्त्वका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।