काठमाडौं ।
बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो ।
एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका- ५ बतासे डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो । थापाको मणिपाल अस्पताल पोखरामा ज्यान गएको हो ।