काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदिएको भन्दै सत्य र परिवर्तनको मार्ग नछाड्न सबैलाई आह्वान गरेका छन्।
फेसबुकमार्फत् सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै ओलीले भीडको मानसिकताले समाजलाई दिशाहीन बनाउने खतरा औंल्याउँदै निजत्व जोगाउन सबैलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, “सामूहिक आक्रमणबाट निजत्व जोगाउनु आजको आवश्यकता हो। भिडसँग बल हुन सक्छ, तर सधैं सत्य हुँदैन।”
ओलीले ‘म झोले हो’ लेखिएको एउटा पोस्टर समेत सार्वजनिक गरेका छन्, जसमा उल्लेख गरिएको छ: “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।”
उनको भनाइमा, कुनै व्यक्तिलाई भगवान बनाइँदैमा सामूहिकतामा विश्वास राख्नेहरूलाई हेप्ने प्रवृत्तिले सत्य पथ छोड्न मिल्दैन। “सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ,” ओलीको अपिल छ।