सन्धिखर्कमा गोठमा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम
नेपाल राज्य संवाददाता
अर्घाखाँची– गाउँमा हल गोरु पालेका कृषकलाई सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले प्रोत्साहन रकम उपलब्ध गराएको छ । १८ जना कृषकलाई ५ हजारका दरले रकम वितरण गरेको छ ।
पछिल्लो समय खेतबारी जोत्न गोरु नपाल्ने र टयाक्टर तथा कृषि औजारबाट खनजोत गर्ने चलन बढ्दो भएकाले बेला वडाले गोरु पाल्ने कृषकको तथ्यांक संकलन गरेर प्रोत्साहन रकम बाँडेको छ । ‘टयाक्टरबाट छिटो छरितो हुने भएपनि गोरु पाल्न प्रोत्साहन गरेका हौं,’ वडाध्यक्ष माधव श्रेष्ठले भने, ‘गोरु पाल्दा खेतबारीमा मल हुन्छ, त्यसले अर्गानिक अन्नबाली, तरकारी उत्पादन हुन्छ । गोरुले जोतेको खेतबारीमा मल राम्रोसँग माटोमा मिसिने र उर्बर भैरहने देखियो ।’
सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा पर्छ । २६ सय घरदुरी संख्या रहेको वडाको तुम्कोट, पटुवाथुम, म्यालपोखरी लगायतका गाउँका कृषकले गोरु पाल्ने कृषकलाई प्राेत्साहन गर्ने माग गरेपछि रकम वितरण गरेको उनले बताए । कृषक प्रोत्साहन कार्यक्रमको लागि वडाले १ लाख रकम विनियोजन गरेको थियो । प्रोत्साहन रकम पाएका १८ जना कृषक टयाक्टर किन्न नसक्ने गरिब किसान हुन । धनीले टयाक्टर किनेपनि उनीहरुले खेतबारी जोत्न घरमा हल गोरु पाल्दै आएका छन् ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गोठमा हलगोरु र गाई पाल्ने कृषकलाई थप विशेष कार्यक्रम ल्याइने बताए । ‘गाइगोरुको गबर मलले खेतबारी मोलिलो हुन्छ र उत्पादन राम्रो हुन्छ,’ उनले भने, ‘बारीमा युरिया, विषादी होलेर होइन, गबर मल हालेर अर्गानिक उत्पादन गर्नुस् । बजारमा तरकारी खाद्यवस्तु बेचेर मनग्य आम्दानी लिन सकिन्छ ।’ टयाक्टर किन्ने रकम नहुने र गोरुपाल्ने किसानलाई प्रोत्साहन रकमले थप हौसला मिलेको कृषकहरुले बताएका छन् ।