अर्घाखाँची – अर्घाखाँचीमा पटकपटक नेकपा एमालेका नेता टोपबहादुर रायमाझीकै चर्चा चलेको पाइएको छ । रायमाझी नहुँदा संसदमा जिल्लाको आवाज नपुगेको स्थानीयको गुनासो छ।
नक्कली शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझी थुनामा परेपछि अर्घाखाँची दुई वर्षदेखि संघीय सांसदविहीन बनेको छ। संसद्मा आवाज बन्द, योजनामा बजेट बन्द, र राजनीति नेतृत्वविहीन अर्घाखाँची जिल्ला ठप्पजस्तै देखिन्छ। बिहीबार पनि सामाजिक संजालभरी रायमाझीकै चर्चा चलेको हो ।
रायमाझीको अनुपस्थितिमा अर्घा विमानस्थल, नौमुरे जलविद्युत्, सालझण्डी–ढोरपाटन सडकलगायतका बहुप्रतिक्षित संघीय योजना बजेट अभावले थन्किएका छन्। नेताविहीनता र संरक्षणको अभावमा रायमाझीसँग एमाले गएका कार्यकर्ताहरू रास्वपातिर जाने तयारी गरेको पाइएको छ।
२०६४ यता हरेक चुनाव जित्दै आएका रायमाझी जेलमा रहँदा अर्घाखाँची न संसदमा छ, न सत्ता समीकरणमा। जनता सुनुवाइ नपाउने, कार्यकर्ता दिशाविहीन हुने, र योजना अधुरै रहने परिस्थिति झन् भयावह बन्दै गएको स्थानीय सालिकराम रायमाझीले बताएका छन् ।