अर्घाखाँची ।
अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालन भएका छन् । अर्घाभगवती यातायात प्रालिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको हो ।
सन्धिखर्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा दुई ठाउँमा चार्जिङ स्टेसन राखिएको छ । सन्धिखर्कबाट बिहान सवा ५, सवा ६, सवा ७ र सवा आठ बजे गाडी बुटवलका लागि छुट्ने अर्घाभगवती यातायातका अध्यक्ष पदम क्षेत्रीले बताए ।
हरेक दिन बिहान भूमिकास्थान नगरपालिकाको ढाकावाङ र असुरकोटबाट सन्धिखर्क हुँदै बुटवलसम्म र मालारानी गाउँपालिकाको खनदहबाट बिहान ७ बजेट गाडी छुट्ने व्यवस्था गरिएको उनले बताए ।
जिल्लामा पहिलो पटक सञ्चालन भएका ११ सिटर माइक्रो गाडीमा पहाडको प्रतिकिलोमिटर भाडादर ८ रुपैयाँ, सन्धिखर्क–गोरुसिंगे सडक खण्डअन्तर्गत सन्धिखर्क–पथ्थरकोटसम्म प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा कायम गरिएको क्षेत्रीले बताए । यसरी सन्धिखर्क–बुटवलको एक यात्रुको भाडादर ४ सय ८० रुपैयाँ कायम हुन्छ ।
‘पहाडमा गाडी परीक्षण गरेर सफल भएपछि मात्रै सवारीका रूपमा सञ्चालन गरेका हौं,’ अध्यक्ष क्षेत्रीले भने, ‘गाउँका कच्चीबाट सबै ठाउँमा सहजै गाडी चल्यो । यात्रुलाई भाडा सस्तो र आरामदायी छ ।’ गाडीमा वाइफाई सुविधासहित सीसी क्यामरा जडान गरिएको छ ।
बिरेन्द्र केसीले कान्तिपुरमा लेखेका हुन ।