अर्घाखाँची ।
कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को जुनी खेर जाने बताए ।
पछिल्लो समय नागरिकमा आक्रोश, भ्रम र निराशा भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस अर्घाखाँचीको प्रथम अधिवेशनलाई शुक्रबार सन्धिखर्कमा सम्बोधन गर्दै थापाले नेपालमा एउटै व्यक्ति चार/पाँच पटक प्रधानमन्त्री हुनुले जनतामा राम्रो परिणाम दिन नसकेको बताए । वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरुले अब हामी प्रधानमन्त्री हुँदैनौं भनेर निर्णय गरेमा सबै समस्या समाधान हुने थापाको तर्क छ ।
‘कसैको गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन,’ उनले भने, ‘खानेपानीको, बाटोको बजेट माग्ने केन्द्रका सांसदलाई होइन, त्यो स्थानीय र प्रदेश सरकारले सम्बोधन गर्ने गरी अधिकार दिनुपर्छ । संघमा सानो आकारको मन्त्रीमण्डल बनाउनुपर्छ ।’
सहकारीबाट ठगिएका व्यक्ति, व्यवसाय, कृषक, वैदेशिक रोजगारी सबैमा पछिल्लो समय निराशामात्रै देखिएका नागरिकलाई सरकार भएको महसुस गराउन उनले सरकारलाई अनुरोध गरे ।
भष्टचारका काण्डैकाण्डले निराशा छाएकाले भष्टाचार गर्ने, भुटानी शरणार्थी काण्डलगायत बाहिर आएका सबै काण्डमा जेसुकै, जुन पार्टीको नेता भए पनि समातिएर कारबाही हुनुपर्ने उनले बताए । चुनावअघि हारिन्छ कि भनेर चुनावी गठबन्धन गर्नु बेठीक भएको तर्क गर्दै थापाले अब कांग्रेसले २०८४ को चुनावमा हारे पनि हारिएला तर, एक्लै चुनाव लड्ने संकल्प लिनुपर्ने बताए । चुनावपछि बहुमत नपुगेमात्रै सरकार बनाउन गठबन्धन गर्नु उचित हुने थापाको भनाइ छ ।
‘मुलुक बिग्रेको छ भनेर नबरालिनुस्,’ थापाले भने, ‘बिग्रेको छ भत्केको छ, कांग्रेस पार्टीले सम्हाल्छ । समस्यालाई सम्बोधन गरेर जाने हो ।’ उनले अर्घाखाँचीमा जुनसुकै बेला पनि चुनाव हुन सक्ने भएकाले चुनावी तयारीमा रहन कार्यकर्तालाई अनुरोध गरे । ०८४ सालअघि नै चुनाव हुन सक्ने भएकाले पार्टीका गतिविधिलाई अगाडि बढाउन थापाले कार्यकर्तालाई आग्रह गरेका छन् ।
२०७९ को चुनावमा निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणबाट पुर्पक्षका लागि थुनामा छन् । रायमाझीसँग कांग्रेस नेतृ पुष्पा भुसाल पराजित भएकी थिइन् ।
विरेन्द्र केसीले कान्तिपुरमा लेखेका हुन ।