एक वर्ष अर्घाखाँची मालारानी गाउँपालिकको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका नेपाल सरकारका अधिकृत सुरेस भुसालले प्रशासनिक कमाण्ड कसरी हाक्नुभयो । काम कसरी गर्नुभयो भन्ने विषयमा नेपाल राज्यले गरेको संक्षिप्त कुराकानी । उहाँ अहिले लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएर काम शुरु गर्नुभएको छ ।
तपाईं मालारानी गाउँपालिकामा कति समय बस्नुभयो ?
मिति २०७९ भाद्र १३ गतेदेखि मिति २०८० भाद्र १३ गतेसम्म ठिक १ वर्ष मालारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहें ।
प्रशासनिक कमाण्ड कसरी हाँक्नुभयो ?
मालारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी प्राप्त भएसँगै प्रशासन संयन्त्रलाई चुस्त, दुरुस्त, छिटोछरितो र गतिशिल बनाउने अधिकतम प्रयत्न गरें । ऐन, नियम र कार्यविधिको निर्माण गर्दा राजनैतिक नेतृत्वलाई कानूनी सहायता उपलव्ध गराउनुका साथै कर्मचारीको मनोवल र उत्प्रेरणालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्ने इमान्दार प्रयत्न गरें । महत्वपूर्ण निर्णय निर्माण गर्नुपूर्व राजनैतिक दल, स्थानीय बुद्धिजिवी, कर्मचारी र सरोकारवाला निकाय समेतको सुझाव लिएँ । राजनैतिक नेतृत्वले तय गरेका नीति तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण कर्मचारीहरुलाई प्रतिवद्ध भई समर्पित हुने बातावरण बन्यो । मैले अगाडि सारेका असल अभ्यासहरुको अनुशरण र इमान्दारीपूर्ण सकरात्मक प्रयत्नमा सबैको साथ र सहयोग रह्यो ।
विकासको काम कसरी गर्नुभयो ?
विकासले वृहत अर्थ राख्छ । विकास अन्तर्गत सामाजिक विकास, आर्थिक विकास, मानव विकास, भौतिक विकास लगायत थुप्रै क्षेत्र पर्दछन् ।गत आर्थिक वर्षमा मालारानीबासी स्थानीय जनताका अपेक्षा, आवश्यकता र चाहना अनुसार तर्जुमा भएका हरेक योजनाहरु स्थानीय जनताकै माग, आवश्यकता र चाहना अनुसार कार्यान्वयन भए । सिमित श्रोतसाधनबाट आम नागरिकका असिमित आवश्यकता पुरा हुन नसकेपनि प्राथमिकताका आधारमा योजना कार्यान्वयनको कार्य सम्पादन भयो । विकासका हरेक गतिविधिहरुमा सरोकारवालाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने अधिकतम प्रयत्न भयो । विकास योजना छनौट, तर्जुमा, कार्यान्वयन र अनुगमनमा सरोकारवाला सम्पूर्ण निकाय र पक्षको सहभागिता गराउने अधिकतम प्रयत्न गरें ।
तपाईं मालारानी बस्दा सम्झनालायक के छोड्नुभएको छ ?
यो मैलेभन्दा मालारानीबासीले अनुभूत गर्ने कुरा हो । मैले अवलम्वन गरेका सहभागितामूलक निर्णय प्रक्रिया, सुझवुझपूर्ण र समन्वयात्मक द्वन्द/बिवाद व्यवस्थापन, सुशासन र पारदर्शिताका हरेक प्रयासहरु र शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भएका प्रयत्नहरु सबै मालारानीबासी र प्रशासनिक एवम् राजनैतिक नेतृत्वले स्मरण गरिरहनुहुनेछ र आगामी दिनमा समेत अवलम्वन गर्नुहुनेछ भन्ने बिश्वाँस लिएको छु ।
सुशासन कस्तो रह्यो ?
सुशासनको प्रमुख उद्देश्य सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारिता बढाउनु हो । शासन व्यवस्थामा जनताको अपनत्व विकास गर्न हरेक गतिविधिमा सरोकारवाला नागरिकहरुलाई सहभागी गराउनु, जवाफदेही बनाउनु, हरेक क्रियाकलाप पारदर्शी बनाउनु र नागरिकलाई सहज एवम् प्रभावकारी सेवा प्राप्त भएको अनुभूति दिलाउनु नै सुशासन हो ।कानूनको पूर्ण परिपालना, सेवाप्रवाहमा सरलीकरण, योजना निर्माण र निर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागिता, नागरिकमैत्री योजना/कार्यक्रम, उपलव्ध स्रोतसाधनको न्यायोचित/समन्यायिक वितरण, पारदर्शिता र जवाफदेहिता रउपलव्ध सेवाप्रति सेवाग्राहीको सन्तुष्टिलाई मैले सदैव प्राथमिकतामा राखी सुशासन प्रवर्द्धनका खातिर म प्रतिवद्ध नै रहें । हरेक सार्वजनिक सेवा र विकास निर्माणलाई सहमतिउन्मुख, समतामूलक र समावेशी बनाउने कुरामा पनि अधिकतम प्रयत्न भयो । डिजिटल बडापत्र, सार्वजनिक र सामाजिक परीक्षण, गुनासो व्यवस्थापन एवम् सार्वजनिक सुनुवाई समेतका औजारहरुको उच्चतम उपयोग गरी सुशासन कायम गर्ने अधिकतम प्रयास गरियो ।
काम गर्दा जनप्रतिनिधिबाट कस्तो साथ पाउनुभयो ?
मेरो मुख्य दायित्व र जिम्मेवारी नै मालारानीका जनप्रतिनिधिहरुले तय गरेका वार्षिक नीति, योजना र कार्यक्रमहरुलाई विधिसम्मत तवरले कार्यान्वयन गर्ने हो । मैले हरेक दिन उक्त जिम्मेवारीलाई विवेकपूर्ण र कुशलतापूर्वक सम्पादन गर्ने प्रयत्न गरिरहें । यसको लागि जनप्रतिनिधिको साथ र सहयोग नहुने कुरै भएन । यसका अतिरिक्त प्रभावकारी सेवाप्रवाह र सुशासन स्थापनार्थ स्थानीय राजनीतिक दल, सञ्चार क्षेत्र र आम मालारानीबासी सचेत नागरिकबाट प्राप्तभएको चासो, सचेतता, सकरात्मक आलोचना,उत्प्रेरणात्मक मार्गदर्शन र रचनात्मक सुझावसदैव सम्झनलायक छ ।
अन्त्यमा केही भन्नु छ कि ?
मेरो एक वर्षको मालारानीको कार्यकालमा मालारानीको विकास र समृद्धिको लागि प्रतिवद्ध भई सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक/कर्मचारी, सञ्चारकर्मी लगायत सम्पूर्ण महानुभावप्रति कृतज्ञ छु । आगामी दिनमा समेत मालारानीको सुशासन र श्रीवृद्धिको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।